विष्फोट न्युज 
धरान,१७ जेष्ठः  धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३’ को उपाधि पूर्वेली भेट्रान बिर्तामोडले हात पार्न सफल वनेको छ ।

शनिवारको फाइनल खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई १–० गोलले पराजित गर्दै पूर्वेलीले उपाधि हात पार्न सफल वनेको हो ।

दोस्रो हाफको ९औँ मिनेटमा भुपेन लिम्बूले गरेको गोल नै पूर्वेलीका विजेता वन्ने  निर्णायक गोल वनेको थियो । खेल अवधिभर गोल गर्ने अवसर प्राप्त गरेको आयोजक टोलीले अवसर गुमाउदा उपविजेता चित्त वुझाउनु परेको थियो ।

NEWS PHOTO 1उपाधिसँगै पूर्वेली भेट्रानले नगद १ लाख १ हजार ५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र हात पार्न सफल वनेको थियो । उपविजेता हाम्रो धरान भेट्रानले ५५ हजार ५ रुपैयाँमा चित्त बुझाउन वाध्य भएको थियो ।

व्यक्तिगत विधातर्फ पनि पूर्वेली भेट्रानकै दबदबा रहेको थियो ।फाइनल खेलको म्यान अफ द म्याच पूर्वेलीका प्रेम तामाङ घोषित भएका थिए उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भुपेन लिम्बू घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे।

त्यस्तै,उत्कृष्ट गोलकिपर रूपक गुरुङ,उत्कृष्ट डिफेन्डर सन्तोष बस्नेत, उत्कृष्ट मिडफिल्डर सन्तोष राई र उत्कृष्ट प्रशिक्षक राहुल खड्का घोषित भए।

उत्कृष्ट स्ट्राइकरको पुरस्कार आयोजक हाम्रो धरानका जीवन लिम्बुले प्राप्त गर्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पदम राईलाई प्रदान गरियो। सबै विधाका विजेताले जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश फुटवल संघ एन्फाका अध्यक्ष किशोर राईले पुरस्कार हस्तान्तरण गरेका थिए । राईले खेल क्षेत्रमा विकास भएमात्र समग्र क्षेत्रको विकास हुने वताए ।