विष्फोट न्युज
धरान,१ कार्तीकः विष्णु सांस्कृतिक युवा क्लब धरान–२० को आयोजनामा सम्पन्न प्रथम नकआउट खुल्ला महिला फुटबल प्रतियोगितामा धरान–२० महिला फुटबल क्लब विजेता बनेको छ। प्रतियोगितामा रेवाहाङ्ग फेयर फुटबल क्लब धरान उपविजेता बनेको छ।
प्रतियोगिताको विजेता धरान–२० महिला फुटबल क्लबले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता रेवाहाङ्ग फेयर फुटबल क्लबले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
विजेता तथा उपविजेता टोलीलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले पुरस्कार वितरण गरेका थिए।
पुरस्कार वितरण कार्यक्रममा कार्यवाहक नगर प्रमुख बेघाले महिला फुटबलको विकासका लागि यस्ता प्रतियोगिताहरू महत्त्वपूर्ण हुने बताए। उनले खेलकुदले युवाहरूमा अनुशासन, एकता र सहकार्यको भावना विकास गर्नुका साथै महिला खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने धारणा राखे।
उनले स्थानीय तहमा खेलकुदका गतिविधिलाई प्रोत्साहन गर्दै महिला खेलाडीहरूलाई अघि बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए। महिला खेलाडीहरूलाई निरन्तर अभ्यास, मेहनत र लगनशीलताका साथ खेल क्षेत्रमा अगाडि बढ्न पनि उनले आग्रह गरे।
महिला फुटबलको विकास, खेलाडीको प्रतिभा उजागर तथा स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय महिला खेलाडीहरूलाई प्रतिस्पर्धात्मक खेलमा सहभागी हुने अवसर प्रदान गर्नुका साथै महिला फुटबलप्रति आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विष्णु सांस्कृतिक युवा क्लब धरान–२० को आयोजनामा सम्पन्न प्रतियोगिताले स्थानीय खेलकुदको प्रवर्द्धन तथा महिला फुटबलको विकासमा योगदान पुर्याउन प्रतियोगिताको आयोजना गरीएको क्लवका अध्यक्षा विजय लामाले वताए ।



















