विष्फोट न्युज 
धरान,३ असार ः मदन भण्डारी मेमोरियल दोस्रो सुनसरी जिल्ला अन्तर क्लब धरान महिला फुटबल कप २०८३ को उद्घाटन खेलमा धरान लेडिज फुटबल टिमले हाम्रो इटहरी भेट्रानलाई पराजित गर्दै  विजयी सुरुआत गरेको छ।

मंगलबार धरान–१६ स्थित रंगशालामा सम्पन्न खेलमा धरान लेडिजले हाम्रो इटहरी भेट्रान क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम आठतर्फको यात्रा सुखद बनाएको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।

टाइब्रेकरमा धरानका एलेक्स चौधरी, केरेन लिम्बु, आयुषा राई र समीक्षा मगरले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए। यद्यपि सिम्रन राईको प्रहार भने सफल हुन सकेन।

इटहरीका तर्फबाट मनिता तामाङ, कल्पना कार्की र पुनम लिम्बुले गोल गरे पनि पेन्जु राई र समीक्षा आचार्यले अवसर सदुपयोग गर्न नसक्दा टोली पहिलो खेलमै प्रतियोगिताबाट निराश बन्न पुग्यो।
धरान सिटी फुटबलको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सांसद विजय राईले गरेका थिए। उद्घाटन समारोहमा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्व तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आयोजक  धरान सिटी फुटबलका अध्यक्ष सागर घिमिरेले महिला फुटबलको विकास र प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताए। उनले  पहिलो संस्करण नगरस्तरीय रहेको प्रतियोगिता यसपटक जिल्लास्तरीय बनाइएको छ। प्रतियोगितामा धरानका ७ टोलीसहित इटहरी, वराहक्षेत्र र रामधुनीका गरी १० टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले ८१ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ४१ हजार रुपैयाँ नगद, ट्रफी र मेडल हात पार्नेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले ४ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।