विष्फोट न्युज 
धरान,५ साउनः डिपोट माध्यमिक विद्यालय धरानले पाँचौं मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपोट बास्केटबल रनिङ कप–२०८३ साउन दोस्रो साता हुने भएको छ ।

आयोजक डिपो माध्यामिक विद्यालयले सोमवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो ।

आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिता साउन १५ देखि १९ गतेसम्म विद्यालयको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ ।

डिपोट माविका प्रिन्सिपल राजकुमार राईले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिताको उद्देश्य विद्यार्थीभित्र रहेको खेल प्रतिभाको प्रस्फुटन गर्नु, विद्यालयहरूबीच आपसी सद्भाव र सम्बन्ध विस्तार गर्नु तथा धरानमा बास्केटबल खेलको विकासमा टेवा पुर्‍याउनु रहेको प्रिन्सिपल राईले वताए ।

प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गर्न लागिएको हो ।

डिपोट शैक्षिक गुठीका सञ्चालक समिति सदस्य तथा शिक्षा उपसमितिका संयोजक प्रकाश पन्धाकका अनुसार स्वर्गीय मेजर लिम्बुले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा १६ वर्ष नेतृत्व गर्दै विद्यालयमा  २ तह सञ्चालन, डिपोट आदर्श बहुमुखी क्याम्पस स्थापना तथा विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान दिएका थिए ।

उनले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीका क्रममा २०७८ साल साउन १५ गते निधन भएको पन्धाकले बताए ।

प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यसैगरी उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक खड्ग शमशेर लिम्बुले जानकारी दिए ।

प्रतियोगिताको प्राविधिक संयोजन धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघले गर्नेछन् । प्रदेशस्तरीय प्रतियोगिता भए पनि यसमा १६ वटा टोलीले मात्र सहभागिता जनाउन पाउनेछन् । टोली छनोट पहिले दर्ता, पहिले अवसरु  को आधारमा गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको अनुमानित खर्च ३ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । उक्त रकम प्रवेश शुल्क, स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको परिवारको मुख्य प्रायोजन, अन्य प्रायोजक तथा विभिन्न दाताको सहयोगबाट व्यवस्थापन गरिनेछ ।