विष्फाेट न्युज
धरान,५ साउनः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ।
गर्मी बिदाको समयलाई सदुपयोग गर्दै स्कुलले विद्यार्थीका लागि सो तालिम सञ्चालन गरेको हो ।
स्कुलका निर्देशक गंगाराम राईले ५ दिनको तालिम सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुने जानकारी दिएकाछन् । निर्देशक राईले बिदाको समयलाई सिर्जनात्मक र रचनात्मक रुपमा रूपमा उपयोग गर्दै विद्यार्थीको बोल्ने कला, प्रस्तुतीकरण क्षमता, आत्मविश्वास र नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
तालिम अवधिभर औपचारिक कार्यक्रम सञ्चालन, उद्घोषणकला, वक्तृत्वकला, प्रभावकारी प्रस्तुतीकरण, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी विषयमा विद्यार्थीलाई व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइनेछ। तालिमको सहजीकरण सञ्चारकर्मी तथा प्रशिक्षक तीर्थ कार्कीले गरिरहेका छन्।
तालिममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक नयनराज राईले जानकारी दिए। विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकाससँगै सार्वजनिक रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुने क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
स्कुलले विद्यार्थीहरुका लागि पढाईका अतिरिक्त विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।




















