विष्फोट न्युज
धरान,१३ भाद्रः नेपाल लोकतन्त्रवादी किराँत राई संघको पहिलो केन्द्रीय महाधिवेशन धरानमा हुने भएको छ । संघले शनिवार धरानमा पत्रकार सम्मेलनमार्फत सो महाधिवेशनको तयारीबारे जानकारी दिएको हो ।
नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी किराँत राई संघले भदौ १५ गते धरानमा सम्मेलन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
महाधिवेशनमा कोशी प्रदेशका १४ वटा जिल्ला र राजधानीका ३ जिल्ला गरी १७ वटा जिल्लाका निर्वाचन क्षेत्रबाट ३३ जना गरी १५० भन्दा बढि प्रतिनिधिले सहभागिता जनाउने कांग्रेसका नेता तथा धरानका पूर्व नगर प्रमुख तिलक राईले जानकारी दिएकाछन् ।
उनले प्रथम महाधिवेशन सम्पन्न गर्न धरानले पाएको अवसरलाई सदुपयोग गर्ने बताए । महाधिवेशन नेपाली कांग्रेस पार्टीको आन्तरिक व्यवस्थापनबाट सम्पन्न गर्न लागिएको हो ।
नेपाली कांग्रेसको विचार, दर्शन र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै पार्टीको विधान तथा निर्देशनअनुसार देश र जनताको सेवामा सक्रिय रहँदै आएको जनाएको संघले प्रथम महाधिवेशन मार्फत नयाँ पुस्तालाई राजनीतिक नेतृत्वका लागि सक्षम र दक्ष बनाउँदै संगठनलाई थप सशक्त बनाउने लक्ष्य लिएको छ । महाधिवेशनले संघको विधान संशोधन तथा परिमार्जन, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्ने तथा त्यसपछि नयाँ नेतृत्व चयन गरिनेछ ।




















