विष्फोट न्युज
धरान,१७ भाद्रः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त तीन पदाधिकारी नियुक्त भएकाछन् ।
प्रतिष्ठानको रिक्त अस्पताल निर्देशक, शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ पदाधिकारी नियुक्त भएका हुन ।
नियुक्त हुनेहरुमा अस्पताल निर्देशकमा डा। इन्द्रकुमार लिम्बू, शिक्षाध्यक्षमा प्रा।डा। शिवेन्द्र झा र रजिस्ट्रारमा धरणीधर बराल नियुक्त भएका छन् ।
बालेन सरकार गठन भएपछि प्रतिस्पर्धाको आधारमा नयाँ पदाधिकारी नियुक्त गर्ने नीति अनुसार प्रतिष्ठानका सबै पदाधिकारी हटाइएका थिए। खाली भएको पदाधिकारीको पदमा नियुक्तिका लागि पहिलो पटक प्रतिष्ठान भित्र र बाहिरका शिक्षाध्यक्षमा ४ जना, रजिस्ट्रारमा १८ जना र अस्पताल निर्देशकमा १४ गरी जम्मा ३६ जनाले आवेदन दिएका थिए ।
अस्पताल निर्देशकमा नियुक्त लिम्बू यसअघि डेपुटी अस्पताल निर्देशक तथा निमित्त अस्पताल निर्देशक थिए । उनी कलेज अफ डेन्टलको प्रोस्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर हुन ।
शिक्षाध्यक्षमा नियुक्त झा प्रतिष्ठानको फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख हुन । उनी यसअघि शैक्षिक डिन पद सम्हालेका थिए । रजिस्ट्रार बराल प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनमा एसोसिएट प्रोफेसर हुन ।
प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएसँगै शैक्षिक गुणस्तर, प्रशासनिक व्यवस्थापन र अस्पताल सेवा सुधार हुने अपेक्षा गरिएको छ । लामो समयदेखि देखिएका प्रशासनिक समस्या समाधान गर्दै सेवा प्रवाह प्रभावकारी बनाउन नवनियुक्त पदाधिकारीका लागि प्रमुख चुनौती विद्यमान छ ।
दिन प्रतिदिन खस्कदै गएको प्रतिष्ठानलाई विस्वासिलो र गुणस्तरीय वनाउन वर्तमान पदाधिकारीका लागि निकै नै चुनौती रहेको छ ।
नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुधार र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने बताए ।



















