छाल खवर 

धरान,१६ चैतःआर्थिक रुपमा धराशायी वन्दै गएको वी.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पेष्ट प्रो सोलुसन प्रालिले करिब ४८ लाख रुपैयाँ बराबरका आवश्यक मेडिकल सामग्री हस्तान्तरण गरेको छ ।

आर्थिक सङ्कटबाट गुज्रिरहेको प्रतिष्ठानलाई आर्थिक तथा भौतिक सहयोग गर्न उपकुलपति प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठले आह्वान गरेपछि उक्त प्रालिले सहयोग गरेको हो ।

सहयोगी दातामध्ये पेष्ट प्रो सोलुसन प्रालि सबैभन्दा बढी मूल्यको सहयोग गर्ने संस्था भएको प्रतिष्ठानका उपकुलपति श्रेष्ठले जानकारी दिएकाछन् ।

सोमबार आयोजित एक कार्यक्रममार्फत प्रालिकी प्रोप्राइटर सुप्रिया माझी वनेपाली र उनका श्रीमान् दीपक वनेपालीले उपकुलपति श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए ।

प्रालिका अनुसार कुल ४७ लाख ८८ हजार ७ सय रुपैयाँ बराबरका सामग्री प्रतिष्ठानलाई उपलब्ध गराइएको प्रा.लि.का प्रोप्राइटर दिपक वनेपालीले वताएकाछन् ।

उनले आफूले प्रतिष्ठानको जिम्मेवारी सम्हाल्दा संस्था चरम आर्थिक सङ्कटमा रहेको र अझै पनि सङ्कटकै अवस्थामा रहेको उल्लेख गरेकाछन् ।

उपकुलपति श्रेष्ठले बिपीलाई बनाउन भित्रका मानिस मात्र होइन, बाहिरका व्यक्तिहरूले पनि सहयोग गर्नुपर्छ भन्ने सोचका नगरपालिका र नगरवासीसँग समेत आह्वान गरेका छन् । 

प्रतिष्ठानका अनुसार विभिन्न शाखाबाट पटक–पटक माग भए पनि बोलपत्र गर्न नसक्दा आवश्यक सामग्री खरिदमा समस्या भइरहेको थियो ।

जति सामग्री प्राप्त भएका छन्, ती सबै तुरुन्तै प्रयोगमा आउने उपकुलपति श्रेष्ठको भनाई रहेको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको इलेक्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रले बताए ।

प्रोप्राइटर दीपक वनेपालीले प्रतिष्ठानलाई पुरानै अवस्थामा फर्काउने अभियानमा साथ दिन सहयोग गरेको बताए ।